युरोपकै अग्लो शिखरमा काभ्रेकी शर्मिलाले फहराइन नेपाली झन्डा !

काठमाडौं : काभ्रेकी शर्मिला तामाङले युरोपकै अग्लो हिमाल एल्ब्रुसमा नेपालको झन्डा फहराएकी छन्। शर्मिलासहित सात जनाको टोली हिमाल आरोहणमा गएको थियो। त्यसमध्ये पाँच जना सोमबार बिहान स्थानीय समयअनुसार ९ बजे चुचुरोमा पुगेको जानकारी पर्वतारोही तामाङले दिएकी छन्।उनले यही सिजनमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्। सात महादेशका सात उच्च हिमाल आरोहण (सेभेन समिट)को योजनाअनुसार रूसमा रहेको एल्बु्रस हिमाल पुगेको उनले अन्नपूर्णसँग बताइन्।

‘यो हिमाल नेपालका हिमालजस्तो सुरक्षित रहेनछ। हावा चल्ने भएकाले डर लाग्यो’, उनले भनिन्, ‘एल्ब्रुस हिमाल टेक्निकल भने रहेनछ। हाम्रो हिमाल भने टेक्निकल छन्।’अब पाँचवटा हिमाल आरोहण गर्न बाँकी रहेको उनले सुनाइन्। उनका अनुसार एल्ब्रुस हिमाल चढ्न आधारशिविरबाट नौ घण्टा लाग्यो। सगरमाथा भने क्याम्प ४ बाटै १३ घण्टा लागेको थियो।उनको टोलीमा रुसी नागरिक गरिक र एगर अनि नेपालीहरू वाङ्दा शेर्पा र राजेश्वरी श्रेष्ठले एल्बु्रस हिमालको सफल आरोहण गरेका छन्। दुई जना नेपालीको आरोहण भने सफल भएन।

उनले मानव बे*चबिखचनवि*रुद्ध र महिला सशक्तीकरणको नारासहित हिमाल आरोहण थालेकी थिइन्। उनी च–टुर्स ट्रेक एन्ड एक्सपिडिसन कम्पनीमार्फत रुस गएकी हुन्। उक्त हिमाल ५ हजार ६ सय ४२ मिटर उचाइमा पर्छ।उनले अघिल्लो वर्षको सिजनमा पनि सगरमाथा आरोहण गरेकी थिइन्। त्यस बेला उनी ८ हजार ७ सय ४६ मिटर उचाइसम्म पुगेकी थिइन्। त्यस बेला अस्वस्थताका कारण फर्किनुपरेको उनले सुनाइन्।

प्रतिक्रिया दिनुहोस्