मुग्लिङ-नारायणघाट सडक खण्ड : १४ नयाँ पुल बन्ने

असोज ५ – नारायणघाट-मुग्लिङ सडकखण्डका पुलको क्षमता विस्तार गरिने भएको छ। दुई लेन चौडा सडकमा मध्यमस्तरका पुल छन्। सडक विभाग पुल महाशाखाले सडकको आकार अनुरूप पुल विस्तार गर्न लागेको हो।नारायणघाट-मुग्लिङ सडकखण्डका पुलका डिजाइन एन्ड बिल्ड मोडालिटीमा निर्माण गरिनेछ। डिजाइनमा हुने प्राविधिक त्रुटि अन्त्य गर्न डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गर्न लागिएको महाशाखा प्रमुख दीपक भट्टराईले बताए। यो मोडालिटीअनुसार डिजाइन गर्नेले नै पुल निर्माण गर्नेछन्। डिजाइन गर्नेले नै निर्माण गर्ने भएकाले निर्माणको क्रममा समस्या देखिँदैन।

निर्माणको क्रममा डिजाइन सच्चाउनुपर्ने अवस्था देखिए सरकारी पक्षको सुझावको आधारमा सुधार गर्न सकिन्छ।‘नेपालका धेरै पुल सरकारी निकायले तयार गरेका डिजाइनका आधारमा ठेकेदारले निर्माण गर्ने चलन छ। यसले गर्दा डिजाइन र निर्माणमा एकरूपता कायम हुन सकेको छैन’, उनले भने, ‘डिजाइन र निर्माण एउटैले गर्दा प्राविधिक समस्या आउँदैन।’३६ किलोमिटर नारायणघाट-मुग्लिङ सडकखण्डमा १८ वटा पुल पर्छन्। चारवटा पुल ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा पुल निर्माण गर्न ठेक्का निकालिएको हो। अहिले पनि यही पुल सवारी सञ्चालनका लागि योग्य छन्।

तर, सडकको तुलनामा पुल सानो हुँदो दुर्घटनाको जोखिम उच्च छ।विश्व बैंकको ऋण सहयोगमा मध्यमस्तरको नारायणघाट-मुग्लिङ सडक एसियाली मापदण्डअनुसार विस्तार गरिएको छ। यो सडक २०७५ जेठमा दुई लेनमा विस्तार भइसकेको छ। सडक फराकिलो बनाइए पनि पुल साँघुरो छ।अहिलेका पुललाई यथास्थितिमा राखेर नयाँ पुल बनाउन लागिएको हो। पुराना पुल भत्काएर नयाँ बनाउँदा सवारी आवागमनमा बाधा उत्पन्न हुन्छ। यो सडक काठमाडौं उत्पयकालाई तराईसँग जोड्ने मुख्यमार्गको रूपमा छ। भारतबाट पनि धेरै सवारी यही बाटो हुँदै काठमाडौं भित्रिन्छन्।

यो सडक खण्डमा दैनिक १० हजारको हाराहारीमा सवारी गुड्छन्।यो खण्डमा पर्ने तीनवटा पुल जटिल भौगोलिक संरचनामा निर्माण भएका छन्। यी तीन पुल ९ मिटरमा मात्र विस्तार गरिनेछ। बाँकी पुल ११ मिटरको हुनेछ। पैदल यात्रुका लागि पुलमा फुटपाथ पनि निर्माण गरिनेछ।‘नारायणघाट-मुग्लिङ सडकखण्डमा पर्ने तीनवटा पुल जटिल भौगोलिक संरचनामा निर्माण भएका छन्। यो खण्डमा पर्ने सबै पुल सवारी चल्न योग्य छन्’, भट्टराईले भने, ‘सडकको क्षमताअनुसार नै पुल विस्तार गर्नुपर्ने हुन्छ। तीन पुल भएको स्थानमा सडक विस्तार गर्ने पर्याप्त ठाउँ नभएकाले फुटपाथको चौडाइ घटाइनेछ।’अन्नपूर्णपोस्ट दैनिकमा निर्दोष घोरसाइनेले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्